
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले लगातार दोस्रो जित निकालेको छ ।
कप्तान अनिल शाहले अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै दोस्रो जित निकालेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्याे ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले ३६ रन जोडे । लाहिरु मिलान्थाले २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा १४१ रन जोडेको थियो ।



















