
ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी मोहनबहादुर शाहीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष प्रकाशबहादुर शाही, संघका महासचिव वीरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नेपाल ब्याडमिन्टन संघको वरीयता प्राप्त प्रतियोगिताको आज भएको पुरुष एकलतर्फको खेलमा भोजपुरका विशाल तामाङ र एपिएफका भोजबहादुर गुरुङले विजयी सुरुवात गरेका छन् ।
तामाङले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङले ललितपुरका सुविन श्रेष्ठ (ए)लाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।
बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ नै कैलालीका शिशिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गरे ।
यस्तै, एपिएफका क्षीतिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङलाई २१–१३, २१–१६, पुलिसका पूर्णबहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९, एपिएफका सक्षम ढकालले कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका प्रदीप सोतीलाई २१–१७, २१–१७, सेनाका सुविन श्रेष्ठले पदम युवा समाजका सफलराज पाण्डेबाट वाक ओभर पाए ।
सेनाका लक्ष्मण राना मगरले सीतापाखा ब्याडमिन्टन क्लबका जोन जसराजलाई २१–२३, २१–१८, २१–१५, एपिएफका रोशन साउदले देवीनगर ब्याडमिन्टन क्लबका गौरव तन्डुकारलाई २१–९, २१–८, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियान्सु श्रेत्रीले सल्यानका निराजन चन्दबाट वाकओभर र कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोलले दार्चुलाका आयुष पाललाई २१–१०, २१–१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।
यस्तै, एपिएफका अनिल मल्लले लम्जुङका सुजन थापालाई २१–११, २०–२२, २१–१०, बागलुङका प्रकाश सापकोटाले सुनाकोठी ब्याडमिन्टन क्लबका युनिश महर्जनलाई २१–११, २१–८, पुलिसका कविर केसीले एपिएफका अमन महर्जनलाई २१–९, १५–२१, २२–२०, सेनाका सुप्रिम पन्तले एपिएफका अरुण अधिकारीलाई २१–१०, २१–१३, सेनाका विवेक चौधरीले देवीनगर ब्याडमिन्टन क्लबका नरेन्द्र लिम्बूलाई २१–१९, २१–१९ ले र गोरखाका सन्वित जोशीले काभ्रेका महेश कार्कीलाई २१–९, २१–१९ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरे ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), यू–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजयीले नगद ४० हजार, दोस्रोले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यू–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर युगल (४५ वर्षमाथि)का प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
५ दिनसम्म हुने प्रतियोगितामा ३ विभागीय टोली, क्लब र जिल्लाका गरी २ सय २८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।



















