
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो । लगातार तीन जिपपछि ६ अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ ।
लम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको ९० रनको मद्दतमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।



















