
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र एसियाली एथलेटिक्स महासंघका उपाध्यक्ष मुहम्मद अक्रम शाहीबीच सोमबार भेटवार्ता भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपका सदस्यसचिव घिसिङको कार्यकक्षमा भएको भेटमा नेपाल एथलेटिक्सको चुनाव र नेपाली एथलेटिक्सको विविध पक्षमा कुराकानी भएको थियो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहको उपस्थितिमा भएको बैठकमा संघको चुनाव यथाशीघ्र सम्पन्न गर्नुमा जोड दिइएको थियो ।
पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग)को विषयमा पनि संक्षिप्त कुराकानी भएको थियो ।
शाहीले सदस्यसचिव घिसिङलाई पाकिस्तान भ्रमणका लागि निमन्त्रणा गरे ।
भेटका अवसरमा पाकिस्तान एथलेटिक्स संघका महासचिव शाहजेहान मिरको पनि उपस्थिति रहेको थियो ।



















