
काठमाडौं । काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । जितसँगै गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने झिनो सम्भावना कायम राखेको छ ।
लिगको अन्तिम खेल जितेपछि काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।
सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा गोर्खाज शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । विराटनगर भने शीर्ष चारकाे दाैडबाट बाहिरिसकेकाे छ ।
सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र गोर्खाज प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौैंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर राना १६ रनमा अविजित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन जोडे ।
बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए ।



















