
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर टु मा पुगेको छ । चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ मा पुगेको हो । अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुरबीचको खेलको पराजित टोलीसँग खेल्नेछ ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।
जिशान मकसुदले ३ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक–एक विकेट लिए ।



















