
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोस्रो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतीमा योनेक्स सनराइज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपालसहित २२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अबर इमिरेट, जाम्बिया, युगाण्डा, इंल्याण्ड, न्यूजील्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।
च्यालेन्जमा पुरुष÷पुरुष एकल तथा युगल तथा मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसमा १ सय ७४ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
१५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिष्ट र क्वाटरफाइनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७ सय २० डलर, ६ सय डलर र ४ सय ८० डलर प्राप्त गर्नेछन् ।
च्यालेन्ज यही पुस ८ गते सोमबारदेखि ११ गते बिहीबारसम्म सञ्चालन हुनेछ ।
यस्तै, च्यालेन्जको लगत्तै १२ गते शुक्रबारदेखि १४ गते आइतबारसम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्यूजील्याण्ड, मलेसिया, थाइल्याण्ड, इरान, युनाइटेड अरब इमिरेट्सका खेलाडीहरुको सहभागिता रहने छ ।
सिरिजमा पुरुष / महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा १ सय ७ खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
सिनियरतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
योनेक्स सनराइज कम्पनी, सिंगापुरले मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिब १ करोड १६ लाख रहेको छ ।
योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ ।



















