यू १९ विश्व कप खेल्ने नेपाली महिला टोलीको बिदाइ

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १४:४१

काठमाडौं । मलेसियामा हुन लागेको यू १९ महिला विश्व कपमा सहभागी हुने टोलीलाई आज (शुक्रबार) नेपाल क्रिकेस संघ (क्यान)ले बिदाइ गरेको छ ।

मलेसियामा अर्काे साताबाट सुरु हुने आइसिसी यू १९ महिला विश्व कपका लागि पूजा महतोको कप्तानीमा रहेको टोलीलाई बिदाइ गरेको हो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले बिदाइ गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को आयोजनामा माघ ५ देखि माघ २० गतेसम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपालसहित १६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागिता हो । एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको थियो ।

विश्व कपमा नेपाल समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डसँग रहेको छ । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपमा डेब्यु गर्नेछ । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग माघ ७ गते रहेको छ । नेपालले विश्व कपको समूह चरणको आफ्नो अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।

विश्व कपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।

समूह चरणको खेलमा शीर्ष ३ मा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका २ समूह हुनेछन् । ग्रप १ मा समूह ‘ए’ का शीर्ष ३ राष्ट्र तथा समूह ‘डी’ का शीर्ष ३ देश रहने छ ।

त्यस्तै, ग्रप २ मा समूह ‘बी’ का शीर्ष ३ देश तथा समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।

सुपर सिक्सका दुवै ग्रपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । पहिलो संस्करणको आइसिसी यू १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।

नेपाली टोली
सोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना बिक, रिया शर्मा, अलिशाकुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.