
काठमाडौं । १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ ।
आज (बिहीबार) राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९ औं बोर्ड बैठकले लोगो र मस्कट पारित गरेको हो ।
बैठकले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टीकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको सदस्य–सचिव घिसिङले बताए ।



















