
विराटनगर । धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज एवं सइ रमेश प्रधान कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले प्रहरी नायव निरीक्षक प्रधानलाई पुस महिनाको ‘वेस्ट पुलिस अफ दी मन्थ’बाट पुरस्कृत गरेका हुन् । प्रधानले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनी नेतृत्वको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदी बजारबाट लागुऔषध गाँजासहित ५ वटा मोटरसाइकलमा सवार ६ जनालाई पक्राउ गरेको थियो । त्यस क्रममा १ सय २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा गाँजा लिएर धरानतर्फ आउँदै गरेको समूहले पुस २४ गते प्रहरीमाथि नै आक्रमण गरेको थियो । त्यसपछि प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।
आफ्नो इलाकामा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन भूमिका खेलेको निष्कर्ष निकाल्दै सइ प्रधानलाई
कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । प्रहरीबाट सम्पादित कार्यको मूल्यांकन गर्दै प्रत्येक महिना प्रदेशभरिबाट १ जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्ने गरिएको छ । ।

























