
विराटनगर । आईसीसी यू– १९ महिला टी– २० विश्वकपको डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् । अफिया अशिमाले अविजित ९ रन बनाइन् । नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । नेपालले दोस्रो खेल स्कटल्याण्डसँग सोमबार खेल्ने छ ।



















