
धरान । सुनसरीको धरानमा हुने २५ औं संस्करणको बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
माघ ११ गतेदेखि हुने प्रतियोगिताको उद्घाटनमा चर्च ब्वाईज युनाइटेड काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले आइतबार खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको उद्घाट खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजले ४ पटकको विजेता पुलिस क्लबको सामना गर्ने जानकारी दिए ।
प्रतियोगिताका लागि मैदान व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको उनले बताए । तामाङका अनुसार प्रतियोगिताको विजेता टिमले १० लाख नगद पुरस्कार पाउने छ ।
गोल्डकपमा साविक विजेता एनआरटी, आयोजक धरान फुटबल क्लब, भारतको युकेएफसी, भुटानको आरटीसी एफसी, इटहरीको राजा क्लब, झापाको केएफटीसी, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड गरेर ८ वटा टिमको सहभागिता रहने छ । माघ २६ गतेसम्म हुने गोल्डकपमा उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउने छ ।
गोल्डकपमा ८२ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको तामाङ बताउँछन् । उनका अनुसार विदेशी संघसंस्थाबाट २५ लाख, मुख्य प्रयोजकबाट १२ लाख, धरान उपमहानगरको सबै २० वडाबाट १२ लाख, कोशी प्रदेश सरकारबाट १० लाख, राष्ट्रिय खेलकुद परिषद्बाट १० लाखसँगै अन्य स्थानबाट गरेर कूल १ करोड १ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।
यसअघिको २४ औं संस्करणमा मोरङ फुटबल संघलाई १–२ गोल अन्तरले पराजित गर्दै न्यूरोड टिम एनआरटीले उपाधि हात पारेको थियो । आयोजकका अनुसार हालसम्म पुलिस क्लब, मनाङ मस्र्याङदी र थ्रीस्टार क्लबले सर्वाधिक समान ४–४ पटक उपाधि जितेका छन् ।
धरानमा २०५५ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणमा दोस्रो भएको आयोजक धरान फुटबल क्लब भने सबैभन्दा बढी ५ पटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।



















