
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तर्गत आज (सोमबार) नेपालले स्कटल्याण्डको सामना गर्ने छ ।
यो विश्वकपमा नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजेबाट सुरू हुनेछ ।
नेपाली टोलीको कप्तान पुजा महतो छिन् । स्कटल्याण्डको नियाम मुइर हुन् । पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालका लागि स्कटल्याण्डसँगको खेल निक्कै महत्वपूर्ण रहने छ ।
स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो ।
नेपालले महिला क्रिकेटको इतिहासमा स्कटल्याण्डसँग पहिलोपटक खेल्न लागेको हो । स्कटल्याण्डलाई पराजित गरेमा नेपाल सुपर सिक्समा पुग्ने बलियो आधार तयार हुने छ ।



















