खो खो विश्व कप पदक विजेता टोलीको स्वागत

Share this
823shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार २०:१०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रथम खो खो विश्व कपका ऐतिहासिक पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, काठमाडौं महानगरपालिका प्रतिनिधि, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले टोलीलाई बधाई दिँदै स्वागत गरे ।

भारतको नयाँ दिल्लीमा गत पुस २९ देखि माघ ६ गतेसम्म भएको विश्व कपमा नेपाली पुरुष / महिला दुवै टोलीले रजत जितेका थिए । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको दुवै समूहको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । पुरुषमा २० तथा महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषको समूह ‘ए’ मा नेपालसहित ५ राष्ट्र थिए । समूह चरणमा पनि नेपाल भारतसँग मात्र ४२–३७ ले पराजित भएको थियो । अन्य खेलमा नेपालले पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ ले पराजित गर्दै समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले हराएको थियो । फाइनलमा नेपाल भारतसँग ५४–३६ ले चुक्यो ।

महिलामा समूह ‘सी’ मा रहेको नेपाल अपराजित रहँदै फाइनलसम्म पुग्न सफल भएको थियो । समूह विजेता हुँदै क्वाटरफाइनल पुग्ने क्रममा नेपालले जर्मनीलाई ७४–३४, भुटानलाई ८३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ ले पन्छाएको थियो ।

नेपालले क्वाटरफाइनलमा इरानलाई १०३–८ र सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पाखा लगाएको थियो । भारतविरुद्धको उपाधि भिडन्तमा नेपाल ७८–४० ले पछि पर्यो ।

सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यवस्था भए बमोजिमनै खेलाडीलाई पुरस्कृत गरिने बताउँदै १५ दिनभित्र आवश्यक कागजात पेश गर्न खो खो संघलाई निर्देशन दिए ।

कप्तानद्वय हेम पनेरु र सरस्वती कडायतले पदक जित्ने लक्ष्यसाथ विश्व कपमा सहभागी भएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.