
विराटनगर । विभिन्न सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार दिउँसो भैरहवा पुगेका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत उनी भैरहवा गएका हुन् । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीमा भएको अपचलनसँग सम्बन्धित मुद्दा जिल्ला अदालत रुपन्देहीमा दायर भएको छ ।
पार्टी स्रोतका अनुसार भैरहवास्थित मेरी गोल्ड होटलमा लामिछानेले कार्यकर्तासँग भेटघाट गर्ने छन् । उनी त्यही होटलमा बस्ने बताइएको छ । जिल्ला अदालत रुपन्देहीमा उनी बुधबार आफैं हाजिर हुने बताइएको छ । लामिछाने अदालत हाजिर हुने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका लामिछाने अदालतको आदेशपछि ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि उनीसँग अदालतले ६० लाख रूपैयाँ धरौटी मागेको थियो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी (गितेन्द्र बाबु) राईसहित १४ जनालाई पुरक अभियोगमार्फत र सुरुको अभियोगमार्फत २८ गरी ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । लामिछानेसँग ४ करोड बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो ।

























