सांसद गुरुङको निलम्बन फुकुवाकाे फैसलामा पुनरावलोकनको आदेश

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १९:२५

विराटनगर । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय सर्वाेच्च अदालतले पुनरावलोकन गर्ने भएको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसलालाई पुनरावलोकन गर्ने आदेश दिएको हो । सर्वाेच्च अदालतले यसअघि उनको निलम्बन फुकुवा गर्ने फैसला गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले विगतका चारवटा नजीरलाई टेकेर टेकबहादुरको फैसलालाई नजिरको सिद्धान्त प्रतिकूल देखिने व्याख्या गरेको हो ।

भृकुटीमण्डपस्थित फन पार्कको जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालतले मनाङका सांसद टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो । अदालतको फैसलापछि उनी निलम्बनमा परेका थिए । विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

१६ चैत, २०८० मा न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा हुने फैसला सुनाएको थियो । सर्वाेच्चको फैसलापछि सांसद गुरुङ प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै आएका थिए ।

सर्वाेच्चको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको थियो ।

निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतको पूर्ण इजलासले फैसला पुनरावलोकन गर्ने आदेश दिएको हो । अब यसअघिको फैसलाको औचित्यमाथि सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले गरेको फैसलालाई अन्तिम मानिन्छ । तर नजीरसँग बाझिएमा, नयाँ तथ्य फेला परेमा, फैसलामा गम्भिर त्रुटी भेटिएमा फैसला पुरावलोकन गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार यो मुद्दामा पुनरावलोकन हुने भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.