
काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले यु १९ महिला विश्वकपमा पहिलो जित हात पारेको छ।
कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसीसी यु १९ महिला विश्वकपमा मलेसियालाई शुक्रबार ७ विकेटले हराउँदै पहिलो जित हासिल गरेको हो ।
४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान पूजाले नट आउट रहँदै सर्वाधिक २३ रन जोडिन् । मलेसियाका लागि मार्साले ३ विकेट लिइन् ।
त्यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४५ रनमा समेटियो ।

मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान पूजाले ४, रचना चौधरीले ३ , रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।
नेपालले डेब्यु विश्वकपमा जितका साथ समाप्त गरेको छ । अर्को संस्करणको विश्वकप २०२७ मा नेपालले आयोजना गर्दैछ ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो ।



















