हिसान स्पोर्ट्स मीटः सेन्टजोसेफ, रेडस्टार, ग्यालेक्सी, ग्रिनल्याण्ड, विराट क्याम्पस, मोडर्न एरा र शिक्षादीप विजयी

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार २०:२२

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत फुटबलमा सेन्टजोसेफ, रेडस्टार र ग्यालेक्सी, क्रिकेटमा ग्रिनल्याण्ड र सेन्टजोसेफ तथा कबड्डीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादीप कलेज विजयी भए ।

फुटबलको पहिलो खेलमा सेन्टजोसेफ स्कुलले मोडर्न एरालाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । प्लेयर अफ द म्याच सेन्टजोसेफका अमर साह भए ।

त्यस्तै, दोस्रो खेलमा रेडस्टार कलेजले मेरिल्याण्ड कलेजलाई टाइब्रेकरमा ५–४ को गोल फरकमा हरायो । दुवै टोली १–१ गोलको बराबरीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । प्लेयर अफ द म्याच रेडस्टारका विजय गुरुङ भए ।

त्यसैगरी, तेस्रो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले शिक्षादीप कलेजलाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट समान १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । प्लेयर अफ द म्याच ग्यालेक्सीका अपिल राई भए ।

यस्तै, क्रिकेटको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किड कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेको ग्रिनल्याण्ले निर्धारित १३ ओभरको खेलमा सबै विकेट गुमाउँदै ७१ रन बनायो । अमित चौधरीले ११ रन बनाए । अर्किडका नागेश्वर यादवले ३ विकेट लिए ।

७२ रनको लक्ष्य पाएको अर्किडले निर्धारित पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ५६ रनमै समेटियो । रणधिर कामतले १६ रन बनाए । ग्रिनल्याण्डका प्लेयर अफ म्याच फैजल अन्सारीले ४ विकेट लिए ।

यसैगरी, दोस्रो खेलमा सेन्टजोसेफ स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई वाक ओभरमा पराजित गरेको छ । खेल सुरु हुने समयमा ग्यालेक्सीका खेलाडीहरूको कागजपत्र ल्याउन नसक्दा आयोजकले सेन्टजोसेफलाई विजयी घोषित गर्यो ।

आजै भएको कबड्डीको पहिलो खेलमा विराट क्याम्पसले नेशनल एकेडेमीलाई ५१–४ को स्कोरले पराजित गरेको छ ।

त्यस्तै, दोस्रो खेलमा मोडर्न एरा स्कुलले बिकेभिएम स्कुललाई ६४–२३ को स्कोरले पराजित गर्यो । त्यसैगरी, तेस्रो खेलमा ग्रिनल्याण्ड कलेजले अरनिको कलेजलाई ३७–२९ को स्कोरले पराजित गर्यो ।

यस्तै, चौथो खेलमा शिक्षादीप कलेजले शिक्षा सन्देश कलेजलाई वाक ओभरमा जितेको छ । खेलको निर्धारित समयमा शिक्षा सन्देश मैदान नआएपछि शिक्षादीपले वाक ओभरको आधारमा जितेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.