
विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मीटको सोमबार भएको कबड्डी खेलको उपाधि विराटनगरको ग्रिनल्याण्ड कलेजले जितेको छ ।
प्रतियोगिताअन्तर्गत कबड्डी खेलमा ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई ३६–२६ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । शिक्षादीप कलेजले तेस्रो स्थान प्राप्त गर्यो ।
त्यस्तै, क्रिकेटतर्फ विराटनगरको अरनिको स्कुल फाइनलमा पुगेको छ भने विराटनगरकै बिकेभिएम स्कुल सेमिफाइनलमा पुग्यो ।
गतवर्षको उपविजेता रहेको अरनिकोले विराटनगरको मेरिल्याण्ड कलेजलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ थालेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १३ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा २८ रनमै समेटियो । मेरिल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । अरनिकोका प्लेयर अफ म्याच अमर यादवले ४ विकेट लिए ।
झिनो २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अरनिकोले ४ ओभर ५ बलमा १ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । अरनिकोका अमन यादवले ११ रनको योगदान गरे ।
अर्को खेलमा, बिकेभिएम स्कुलले नमुनाविद्या मन्दिरलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरको खेलमा ६ ओभर खेल्दै सबै विकेट गुमाउँदै ३१ रनमै सीमित भयो । नमुनाका कुनै पनि ब्याटरले चल्न सकेनन् । बिकेभिएमका प्लेयर अफ म्याच शिवम यादवले ४ विकेट र आकाश चौधरीले ४ विकेट लिए ।
३२ रनको झिनो चुनौती पाएको बिकेभिएमले ३ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । आकाश चौधरीले ९ रन बनाए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।
त्यसैगरी, छात्र फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले ग्यालेक्सी कलेजलाई टाइब्रेकरमा ३–० को गोल फरकमा हराउँदै फाइनल यात्रा तय गर्यो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरीमा खेलेपछि निणर्य टाइब्रेकरबाट भएको हो । प्लेयर अफ द म्याच कान्तिपुरका जीवन चौधरी भए ।
अर्को खेलमा, रेडस्टार स्कुलले सेन्टजोसेफ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेटस्टारका प्लेयर अफ द म्याच सोनम गुरुङले २ गोल र छोसाङ गुरुङले १ गरे । सान्त्वना गोल सेन्टजोसेफका गिरिश कार्कीले गरे ।
छात्रा फुटबलतर्फ रेडस्टारले शिक्षादीप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ । रेडस्टारकी प्लेयर अफ द म्याच स्मृति राईले २ गोल तथा आशिका लिम्बू र एन्जिला राईले १–१ गोल गरे ।
यस्तै, बास्केटबल खेलमा शिक्षादीपले अरनिकोलाई २४–२१ को स्कोरले पराजित गर्दै फाइनलमा पुगेको छ । प्लेयर अफ म्याच शिक्षादीपका यूविन मगर भए । यसअघि नै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ ।
भलिबल छात्रतर्फ रेडस्टारले अर्किड कलेजलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
छात्रातर्फ रेडस्टारले शिक्षादीपलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आश्मा राई भइन् ।



















