
बिर्तामोड । ८ औं संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नवप्रगति समाज सेवा क्लब खेल्ने मंगलबार (आज) पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नवज्योति युवा क्लब र रेडहर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यू स्टार एफसी सुनसरीका विरुद्धमा खेल्ने छ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौं र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ ।
नवज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख २५ हजार र उपविजेताले १ लाख २५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद ७ हजार पाउने छन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वाेत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
७ औं संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।



















