बर्खा स्मृति क्रिकेटः उपाधिका लागि बिर्तामोड र भद्रपुर खेल्ने

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार २०:५१

बिर्तामोड । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तर्पालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् ।

आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

गौरादहका लागि सुरज न्यौपानेले १ सय ९ रनको शतकीय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाए ।

१८१ रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गर्यो । 

गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन ।

बिर्तामोडलाई जित दिलाउन महत्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाईं खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।

त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई १ सय १६ रनको ठुलो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका फाइनल प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको भद्रपुरले मेचीनगर सामु २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अंकित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रनको मद्दतमा भद्रपुरले २ सय ६ रनको योगफल तयार गरेको थियो । 

मेचीनगरका लागि प्रतियोगिताकै पहिलो ह्याट्रिकसँगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

२ सय ७ रनको ठुलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२ ओभर १ बलमा अलआउट हुँदै ९० रनमै समेटियो ।  भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।

प्रतियोगिताको उपाधि खेल माघ १९ गते शनिबार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.