घटनास्थलमा भेला भएका स्थानीयविराटनगर । विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलमा गाडेको अवस्थामा भेटिएकी बालिकाको हत्यामा उनकै बाबुआमा र मामली परिवारको समेत संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
हत्या माघ ११ गते शुक्रबार राति भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, अनुसन्धानका क्रममा पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्न नसकिरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप सोधपुछ र अनुसन्धान गरिरहेको छ ।
हत्या गरी मामली घरनजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार (माघ १८ गते) १४ वर्षीया चाँदनी यादवको शव फेला परेको थियो । प्रहरीले उत्खनन गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनका अनुसार पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने छ ।
हत्या गरेकी चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब १ महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । घर भारत बिहारको छपरा जिल्लामा पर्छ । निक्कै दिन विराटनगर नै बसेका बाबुआमा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घरतर्फ फर्किए ।
बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि उनी बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीमा पुग्यो । डीएसपी जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गरी शव गाडेको स्थान पत्ता लगाएको हो ।
चाँदनीको हत्यापछि मामाघरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मामली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘मामली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि बाबु लालमोहन र आमा राजकुमारी घर फर्किएछन्,’ स्रोतले भन्यो, ‘घटनालाई स्थापित गर्न थप सबुत संकलन गर्ने काम भइरहेको छ ।’
हत्या कसरी गरियोभन्ने यकिन छैन । ‘हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिँदैन । हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।
उनका अनुसार भारतमा १ व्यक्तिसँगको प्रेम सम्बन्धकै कारण चाँदनीको हत्या भएको निष्कर्षमा पुगिएको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा बाबुआमादेखि मामली परिवारसम्मको संलग्नता देखिने जोशीले बताए । ‘हत्यामा को को व्यक्ति संलग्न छन् भनेर यकिन गर्ने काम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । पछि आफूहरुसँगै रहेको पनि भनेर प्रहरीलाई ढाँटे ।
आमा राजकुमारीले त मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्यो ? भनेर प्रहरीसँग झर्किदै कुरा गरेको डीएसपी जोशीले बताए । ‘बालिकाका बारेमा सोधीखोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मामली हजुरबुवा बीचको कुरा बाझियो,’ उनी भन्छन्, ‘उनीहरुको भूमिका शंकास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शंका लागेर थप खोजतलास गर्दा शव फेला परेको हो । ’
चाँदनीको हत्याको विषयमा थप कुरा पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जोशीले बताए । घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरुले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए । मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।
विराटनगरमा खाल्डोभित्र बालिकाको शव : बोली बाझिएपछि खुल्यो हत्याको पोल (भिडियोसहित)

























