
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार कारागार चलान भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आइतबार आदेश दिएको हो । आदेशलगत्तै उनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको हो । सहकारीको रकम अपचलनमा मुछिएका उनी लामो समयदेखि फरार थिए । यही माघ १४ गते अदालत हाजिर भएका हुन् ।
अदालतमा उनको बयान लिन नै ३ दिन समय लागेको थियो । बीचमा शनिबारसहित ३ दिन बिदा पर्यो । रौनियारको बयान गत शुक्रबार सकिएको हो । अदालत हाजिर भएर बयान तथा थुनछेक बहस नसकिएसम्म उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए ।
उनीविरुद्ध दर्ता भएको मुद्दामा आइतबार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएर अदालतले आदेश दिएको हो । रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो ।
रौनियार लामो समयदेखि सरकारी बन्द गरेर फरार भएका थिए । जम्मा गरेको रकम रौनियारकै अगुवाइमा अपचलन गरिएपछि बचतकर्ताको बिल्लीबाठ भएको छ ।
उमागौरी सहकारीको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् । हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।
मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशलगत्तै उनलाई कारागार चलान गरिएको छ ।
गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

























