
विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समिति अध्यक्षको नियुक्तिविरुद्ध उच्च अदालत विराटनगरमा अदालतको अवहेलना मद्दा परेको छ ।
उच्च अदालत विराटनगरको आदेश विपरित कोशी प्रदेश खेलकुद विकास बोर्डले सुरजबहादुर श्रेष्ठलाई मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको दाबीसहित अदालतकाे अवहेलना मुद्दा दायर भएको हो ।
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री तथा पाँचकर्ण राईको अध्यक्षतामा माघ १७ गते बसेको बैठकले श्रेष्ठलाई जिल्ला अध्यक्ष नियुक्त गरेको थियो ।
२०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङ्गलाई गत २०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले निलम्बन गरेका थिए । निलम्बनको निर्णयविरुद्ध तामाङले उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।
भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गरेर काम कारवाही गर्न दिनु भन्ने आदेशलाई निरन्तरता दिएको थियो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको सो रिटमा पेशी फागुन २६ गतेलाई तोकिएको छ ।
आफूलाई काम गर्न दिनु भन्ने उच्च अदालतको आदेश विपरित काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै तामाङले प्रदेश खेलकुद विकास बोर्ड र सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)लाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा माघ २० गते अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।
प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङले खेलकुद विकास समिति मोरङको अध्यक्षमा नियुक्ति पाएका थिए । सदस्य सचिवमा एमाले नेता बस्नेत पुनर्वहाली भएपछि योञ्जनले जिम्मेवारी खाेसिएकाे थियाे ।



















