
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराट चोकमा ‘विराट एक्स्पो’को चौथो संस्करण माघ ३० गतेदेखि हुने भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयारीबारे आइतबार (आज) पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका संयोजक भोलेश्वर दुलालले माघ ३० देखि फागुन १० गतेसम्म सन्दरहरैँचाका विभिन्न स्थानमा नमुना सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागेको जानकारी दिए ।
एक्स्पोको आन्तरिक तयारी पूरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आम्दानीबाट सुन्दरहरैँचामा नमुना सार्वजनिक शौचालय निर्माण गरिने संयोजक दुलालले बताए ।
यसअघि २०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।
हाल सलकपुर र विराट चोकमा सञ्चालनमा रहेका सार्वजनिक शौचालय देशै नमुना शौचालय रहेको छ । अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको संयोजक दुलालले प्रस्ट पारे ।
उनले एक्स्पो आयोजनाबाट भएको बचतबाट सार्वजनिक शौचालय निर्माण कार्यका लागि हस्तान्तरण गरिने छ । शौचालयको व्यवस्थापन सुन्दरहरैँचा उद्योग वाणिज्य संघले गर्ने छ ।
सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्र, विराट चोकमा हुने एक्स्पोमा १ सय ९४ वटा स्टल रहेको सुन्दरहैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए ।
कृषि, उद्योग तथा पर्यटनलगायतका आर्थिक एवं औद्योगिक क्रियाकलापको अभिवृद्धि गर्ने र नवीनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरी दिगो स्वरोजगार सिर्जना गर्ने एक्स्पोको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए ।

























