प्रधान न्यायालयको फैसला कानुन पत्रिकामा प्रकाशन गर्दै सर्वोच्च

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार १८:०६

काठमाडौं । प्रधान न्यायालयले गरेका फैसलाहरु सर्वोच्च अदालतले कानुन पत्रिकामा प्रकाशन सुरु गरेको छ ।

सर्वोच्च अदालत गठन हुनुभन्दा अघि (२०१५ सालअघि) नेपालमा प्रधान न्यायालय थियो । वि.स‍. २०१५ भन्दा पहिले प्रधान न्यायालयले गरेका फैसला कानुन पत्रिकामा प्रकाशन सुरु गरेको हो ।

सर्वोच्चको सम्पादन तथा प्रकाशन समितिले बुधबार प्रजातन्त्र दिवसको अवसरमा वि.स. २००९ सालमा भएका फैसलाहरूको प्रकाशन गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाल कानुन पत्रिका (पुरानो अंकंको विमोचन गरे । विमोचन गर्दै उनले ऐतिहासिक धरोहर नै वर्तमानको आधारस्तम्भ रहेको बताए ।

सर्वोच्च अदालतले विसं २०१४ सालसम्मका फैसलाहरूलाई सिलसिलावद्ध रुपमा प्रकाशन गर्ने जनाएको छ । १९९७ साउन १ गते तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्सेरले प्रधान न्यायालय स्थापना गरेका थिए ।

जुद्धशम्सेरको सनद बमोजिम निर्वाचन भई बहादुर शम्सेर जबरा न्यायाधीश जनरल निर्वाचित भएका थिए । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भयो । २००९ बैशाख २६ वैशाखमा ऐन राजपत्रमा प्रकाशित भएपछि प्रधानन्यायालय स्थापना भएको थियो ।

सर्वोच्च अदालतको प्रकाशन समितिका अध्यक्ष न्यायाधीश हरि फुयालले कानुन पत्रिका प्रकाशित हुनुअघि प्रधानन्यायालयसँग सम्बन्धित फैसला र अरु दस्तावेज संकलनको काम भइरहेको बताए ।

२०१३ सालमा नयाँ ऐन जारी भई सर्वोच्च अदालत गठन हुनुअघिका १६ वर्ष नेपालमा प्रधान न्यायालय थियो । सर्वोच्च अदालत स्थापना भएपछि सर्वाेच्चको फैसला समेटेर २०१५ सालदेखि नेपाल कानुन पत्रिका प्रकाशन सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.