
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित खतिवडा चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिश्चरेबाट जयपुरतर्फ जाँदै मे ९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति–२ की ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको हो । पैदल हिँडिरहेका बेला शनिबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो ।
उपचारका क्रममा करिब ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति–७ का २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् । सामान्य अवस्थाका उनको सीटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।
मोटरसाइकल र चालक इलामको सूर्योदय नगरपालिका–१० का २१ वर्षीय भुवन न्यौपानेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























