
काठमाडौं । सामाजिक सञ्जाल एक्स(पुरानो ट्वीटर) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको फोटो राखेको एकाउन्ट भेटिएपछि उनको सचिवालयले कुनै पनि एक्स अकाउन्ट नभएको बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै राउतको सचिवालयले प्रधानन्यायाधीशको नाम र फोटो प्रयोग गरिएको अकाउन्ट प्रधानन्यायाधीशको नभएको बताएको हो ।
प्रधानन्यायाधीश राउतकै फोटो प्रयोग गरी ‘मिस्टर प्रकाश नेपाल’ नाममा एकाउन्ट खोलिएको छ । प्रधानन्यायाधीशको सचिवालयले त्यसलाई भ्रामक भएको जनाएको छ ।
‘हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्वीट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्वीटमा उल्लेख भएको झुट्ठो व्यहोरा प्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।’विज्ञप्तिमा भनिएको छ ।

























