
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा मंगलबार रातिदेखि हटाइएको छ । राति ११ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार ३ दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । फागुन ११ गते बिहान ५ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।
सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको समूहलाई लक्षित गरी लगाइएको निषेधाज्ञा तत्कालका लागि हटाइएको प्रजिअ शर्माले बताए ।
ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच पटकपटक झडप भएका छन् । अवस्था समान्य बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा हटाएको हो ।


























