
काठमाडौं । नेपाली सेनाले आज (बुधबार) २६२ औं सेना दिवस मनाएको छ। सेना दिवसको अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरियो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रूपमा बोलाएर सेनाले आफ्नो २६२ औं स्थापना दिवस मनाएको हो । उक्त अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो।
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।
नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरूको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।

























