
विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र अस्थायी ट्राफिक प्रहरी मधुमल्लाको संयुक्त टोलीले हराएको स्कुटी फेला पारेको छ ।
स्कुटर फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । सवारी चेकजाँचका क्रममा फागुन १३ गते साँझ ७ः३० बजेतिर मिक्लाजुङ गाउँपालिका–७ भण्डारी चोकमा प्रदेश १–०१–०१२ प ११६२ नम्बरको स्कुटर शंकास्पद अवस्थामा फेला परेको थियो ।
चालकको साथमा ‘ब्लुबुक’ र लाइसेन्स (सवारी चालक अनुमति पत्र) फेला परेन । घरबाट ल्याउने भन्दै स्कुटर छाडेर चालक हिँडेका थिए । पछि ती चालक स्कुटर लिन आएनन् ।
यातायात व्यवस्था कार्यालय झापासँग प्रहरीले समन्वय गर्दा उक्त स्कुटर दमक नगरपालिका–९ का केशवकुमार ओलीको नाममा दर्ता रहेको पत्ता लाग्यो । ओलीले स्कुटर फागुन १२ गते दिउँसो आफ्नै घरबाट हराएको जानकारी गराए ।
धनी पत्ता लागेपछि बोलाएर स्कुटर जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक (सई) मचिन्द्र योङहाङ लिम्बूले बताए । उनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्कुटर सम्बन्धित धनीलाई बुझाइएको हो ।

























