
विराटनगर । भूकम्पले कोशी प्रदेशका विभिन्न ३ जिल्लाका ४ घरमा क्षति पुर्याएको छ । संखुवासभाका २ तथा भोजपुर र सोलुखुम्बुका १–१ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घरहरु चर्किए पनि मानवीय र चौपाया क्षति भने भएन । संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाका ३८ वर्षीय फुर्पु नावाको घरमा आंशिक क्षति पुगेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताए । उनका अनुसार नावाको ढुंगाको गाह्रो र टिनको छानो भएको २ तले घरको पूर्व साइडको भाग भासिएको छ ।
घरको साइड भासिदा पर्खाल चर्किएर आंशिक क्षति भएको जानकारी अधिकारीले दिए । घर चर्किए पनि मानिस बसोबास गर्न मिल्ने अवस्थामा घर रहेको प्रहरीको भनाइ छ ।
संखुवासभाकै पाँचखपन नगरपालिका–१ का लाक्पा दोर्जे तामाङको घरमा पनि सामान्य क्षति पुगेको छ । ढुंगा र माटोको प्रयोग गरी फुसको छानो लगाएर बनाइएको २ तले घर चर्किएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१३ पातलका ६४ वर्षीय सन्तबहादुर तामाङको घरमा पनि भूकम्पले क्षति पुर्याएको छ । ढुंगा र माटो प्रयोग गरी टिनको छानो लगाएर बनाएको २ तले घरको गाह्रो चर्किएको डीआईजी अधिकारीले बताए । उनका अनुसार घरसँगै रहेको ढुंगाको माटोले बनेको ग्वाली घरसमेत चर्किएको छ ।
यसैबीच, भूकम्पले सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का गोपाल बस्नेतको घरमा पनि क्षति पुर्याएको छ । ढुंगा र माटो प्रयोग गरी टिनको छानो लगाएर बनाइएको २ तले घरको पूर्वतर्फको पर्खाल चर्किएको डीआईजी अधिकारीले बताए ।
कोशीका ३ जिल्लाका ४ घरमा समान्यबाहेक भूकम्पले क्षति नपुर्याएको उनले बताए । भूकम्पले थप कतै क्षति गरेको छ कि भनेर बुझ्नलाई प्रहरी परिचालन गरिएको छ । पहाडका घर सामान्य चर्किए पनि तराईमा भने भूकम्पले क्षति नगरेको उनको भनाइ छ ।
भूकम्पले पुर्याएको क्षति यकिन गर्न स्थानीय तह र जनप्रतिनिसँग पनि समन्वय भइरहेको जानकारी डीआईजी अधिकारीले दिए । कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । सबैतिर सम्पर्क स्थापित गर्दा भूकम्पले जनधनको ठूलो क्षति गरेको नपाइएको डीआईजी अधिकारीको भनाइ छ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति २ः५१ बजेतिर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का देशभर महसुस भएको थियो । तर, ठूलो क्षति भने भएको छैन ।

























