
काठमाडौं । देशमा कायम रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज (मंगलबार) केही ठाउँमा हिमपात र हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिमको केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























