
विराटनगर । ड्युटीमा रहेका २ जना प्रहरीमाथि गत माघ २५ गते राति कुटपिट गरेको आरोपमा प्रहरीले एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमलराज जोशीसहित ५ जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलायो । यो मुद्दामा उनीहरु धरौटी बुझाएर छुटे ।
गत माघ २ गते प्रहरीले सामाजिक अभियान्ता आशिका तामाङलाई पक्राउ गरी प्रहरीले काठमाडौं र भक्तपुरमा अभद्र व्यवहार मुद्दा चलायो । दुवै जिल्लाबाट उनी धरौटी बुझाएर पुर्पक्षका लागि छुटिन् ।
झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई सुरुमा पक्राउ गर्दा पनि अभद्र व्यवहारकै आरोप लगाइएको थियो । उनीहरु मात्रै होइन, पक्राउ परेका व्यक्तिकाविरुद्ध अन्य आरोप र कसुर नभए प्रहरीले अभद्र व्यवहार मुद्दा नै लगाउँछ ।
प्रमुख जिल्ला अधिकारीले हेर्ने यो मुद्दामा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिताको दफा ११८ (१) मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न, कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’
उपदफा (२) भनिएको छ, ‘उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना अथवा दुवै सजाय हुनेछ ।’
सामान्यतया प्रहरीलाई नियन्त्रणमा लिएका व्यक्तिलाई अनुसन्धानका लागि थुनामा राख्ने समय २५ दिनको हुन्छ । पक्राउ परेका व्यक्तिले अन्य कसुर गरेको नदेखिए मुलुकी अपराध संहिताको दफा ११८ प्रयोग गरेर प्रहरीले अनुसन्धान एवं कारबाही अघि बढाउने गरेको कानुन व्यवसायीहरु बताउँछन् ।


























