
विराटनगर । सुनसरीमा सीटी सफारी दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
बराहक्षेत्र नगरपालिका–५ मैनवारीमा बुधबार साँझ दुर्घटना भएको हो । मैनवारीबाट चक्रघट्टीतिर जाँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सफारी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बराहक्षेत्र नगरपालिका–८ की ९ वर्षीया वविता सुवेदीको मृत्यु भएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृतक बालिकाका बुवा ५५ वर्षीय राजन सुवेदी, सफारी चालक बराहक्षेत्र–८ का ३५ वर्षीय राजेन्द्र पौडेल, २५ वर्षीया मनिषा खतिवडा, मनिषकी छोरी १ वर्षीया आस्मी खतिवडा र मोरङको बेलबारी नगरपालिका–१ की २५ वर्षीया प्रमिला थापा घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























