
विराटनगर । सुनसरीको गढी गाउँपालिका–४ मा आज (शुक्रबार) बिहानका राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सडकमा रोकेर राखेको बसमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकमा रोकेर राखिएको प्रदेश २–०१–००१ क ००५१ नम्बरको बसमा प्रदेश १–०२–९४५ प ५००१ नम्बरको मोटरसाइकल बिहानका राति १ बजेतिर ठोक्किएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गढी–४ का अन्दाजी २५ वर्षीय प्रमोदकुमार चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट नर्सिङ होममा २ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २२ वर्षीय अरबिन्द मेहता घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै बस र चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ४२ वर्षीय दीपककुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























