
काठमाडौं । पोखरामा कोटीहोम रोक्न खोज्दा शुक्रबार झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम आयोजना गरेको छ ।
तर, पोखरा महानगरले अनुमति दिएको छैन । अनुमति बिना नै कोटीहोम आयोजनाको प्रयास भएपछि प्रहरीले रोक्न खोजेको थियो । अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको हो ।
कोटीहोमवाला गर्ने भन्ने नगरपालिका अनुमति नदिएर गर्न नदिने भन्ने विषयमा विवाद हुँदा नगर प्रहरीसँग झडप भएको बताइएको छ । झडपमा परेर केही घाइते भएका छन् ।
नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गइ पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

























