
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि एकजुट हुन सबैमा आह्वान गरेका छन् ।
संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्नुपर्नेमा उनको जोड छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै उनले लैंगिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने बताए ।
पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

























