
विराटनगर । विराटनगरमा सोह्रौँ योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदानलगायतका विषयमा प्रदेश एवं स्थानीय तह लक्षित २ दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
स्वीस सरकार विकास सहयोग एसडीसी सहयोगमा हेल्भेटासमार्फत सञ्चालित प्रदेश सहयोग कार्यक्रमको व्यवस्थापन तथा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कोशी प्रदेश योजना आयोगको समन्वयमा राष्ट्रिय योजना आयोगले शुक्रबार र शनिबार कार्यक्रम गरेको हो । कार्यक्रममा मध्यमकालीन खर्च संरचना, मध्यमकालीन नतिजा खाका, मध्यमकालीन बजेट खाका, बजेट तर्जुमा अभ्यास र राष्ट्रिय आयोजना बैंक मार्गदर्शन सम्बन्धी जानकारीका बारेमा कार्यपत्र प्रस्तुत गरियो ।
त्यस्तै, राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीको अभ्यास, चुनौती तथा स्थानीय आयोजना बैंक एवं प्रदेश आयोजना बैंकबीच अन्तरआबद्धताका सम्भावित क्षेत्र, अनुगमन तथा मूल्यांकन : भूमिका, विद्यमान व्यवस्था एवं जिम्मेवारी, स्थानीय तहको मध्यमकालीन खर्च संरचना तर्जुमालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कोशी प्रदेशको दोस्रो आवधिक योजना, मध्यमकालीन खर्च संरचना तर्जुमा तथा आवधिक योजना सम्बन्धी अभ्यास र चुनौती, समपूरक तथा विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ र सूचना व्यवस्थापन प्रणाली, प्रमुख सवाल तथा चुनौती, बहुक्षेत्रीय पोषण योजना र कार्यक्रम, प्रदेशमा समपूरक एवं विशेष अनुदानको अभ्यास तथा चुनौतीलगायतका विषयमा समेत कार्यपत्र प्रस्तुत गरियो ।
कोशी प्रदेशका १०३ पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत सहभागी कार्यक्रममा समूह विभाजन गरेर छलफल गरिएको थियो । राष्ट्रिय योजना आयोगका प्रतिनिधि, कोशी प्रदेश सरकारका प्रतिनिधि, प्रदेश योजना आयोगका प्रतिनिधिलगायतले त्यसको सहजीकरण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरु, कोशी प्रदेशसभाका विभिन्न समितिका सभापतिहरु, प्रमुख सचेतकहरु, मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोग, कोशी प्रदेश योजना आयोगलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी सरकारले प्रदेश योजना बैंकको अवधारणा लागू गरेको बताए । आम्दानीको स्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिएको जानकारी उनले दिए ।
उनले योजना छनोट गर्ने, योजनालाई बैंकमा समावेश गर्ने, गाउँगाउँमा छलफल गर्ने, प्रदेशभित्रका आयोजनाहरुलाई समावेश गर्ने लगायत गरेर आफूलाई थप व्यवस्थित गर्न र विधिमा बाँध्नका लागि प्रयास गरेको बताए । नयाँ आर्थिक वर्ष वैशाखदेखि सुरु हुनुपर्नेमा उनको जोड छ ।
वर्षाका कारण विकासका काम प्रभावित हुने गरेकाले आर्थिक वर्ष साउनको साटो वैशाख १ गतेदेखि सुरु हुनुपर्ने उनको माग छ । कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाए पनि प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले पहाडबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने प्रवृत्ति रोक्न आवश्यक रहेको बताए । बसाइँसराइ रोक्नलाई तीनै तहका सरकार मिलेर विकासका पूर्वाधारसँगै स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ । पहाडी जिल्लामा सुरु भएको ४ वटा पदमार्ग निर्माणले २० हजारलाई रोजगारी दिने उनले बताए ।
त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सरकारले बनाएका योजनाले जनताको आर्थिक अवस्था सुधार हुन्छ कि हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । जनताको आयस्थर वृद्धिमा सहयोग पुगेन भने सरकारले निर्माण गरेका योजनाले सार्थकता नपाउने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले स्थानीय अर्थतन्त्र बलियो भयो भने राष्ट्रिय अर्थतन्त्र पनि बलियो हुने बताए । उनले राष्ट्रिय योजना आयोगले पनि परिमार्जित रुपमा काम गर्ने कोसिस गरिरहेको बताए ।
स्थानीय सरकारका लागि कार्यक्रम निकै प्रभावकारी भएको बताइएको छ । कोशी प्रदेशसभा सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौडेलले प्रदेश र स्थानीय सरकारसँग कसरी समन्वय गर्ने भन्ने कुराहरुको स्पष्ट जानकारी कार्यक्रममा पाएको बताइन् । पालिकाहरुलाई वर्गीकरण गरेर काम गनुपर्ने बताउँदै पौडेलले कोशी प्रदेशका १४ मध्ये ११ वटा जिल्ला पहाडी क्षेत्रमा भएका कारण ती जिल्लालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।
इलामको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले अन्तरक्रियाले सिक्नुपर्ने धेरै कुरा बाँकी रहेछ भन्ने महसुस गराएको बताए । यस्ता कार्यक्रमले पुनर्ताजगी गर्ने र काममा सहयोग पुग्ने उनको भनाइ छ ।
इलामको रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले कार्यक्रममार्फत कानुनी व्यवस्था, कानुनी अड्चनलगायतका विषयमा जानकारी हुनुका साथै योजना निर्माण गर्दा ध्यान दिनुपर्ने धेरै कुराहरु पुनर्ताजगी भएको बताए । कामलाई अझ व्यवस्थित तरिकाले अघि बढाउन कार्यक्रमले मद्धत पुग्ने उनको भनाइ छ ।


























