विराटनगरको बाल सुधारगृहमा झडपपछि १४ जनाको स्थानान्तरण

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार १९:२७

विराटनगर । झडपका कारण अशान्त बनेको विराटनगरको बाल सुधारगृहबाट आइतबार १४ जनाको स्थानान्तरण भएको छ ।

विराटनगरस्थित बाल सुधारगृहका प्रमुख मिलन चौहानले स्थानान्तरण गरेर १४ जनालाई बाँकेको नौवस्तामा रहेको बाल सुधारगृहमा पठाइएको जानकारी दिए । उनका अनुसार बाँकेको बाल सुधारगृहमा १८ वर्ष माथिकालाई राखिन्छ । विराटनगरबाट पठाइएका सबै १८ वर्षमाथिका रहेको चौहानले बताए ।

उनका अनुसार स्थानान्तरण गरिएकाहरु कर्तव्य ज्यान, जबरजस्ती करणी र लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएकाहरु हुन् । ‘सुधारगृहभित्र विवाद, झगडा र झडपमा संलग्न भएकाहरुलाई स्थानान्तरण गरिएको हो,’ चौहान भन्छन्, ‘कतिपयलाई सुरक्षाका दृष्टिकोणले पनि पठाउनुपर्ने अवस्था आयो ।’

विराटनगर महानगरपालिका–३ स्थित सुधारगृहभित्र गत शुक्रबार साँझ दोहोरो झडप हुँदा ३ जना घाइते भएका थिए । घाइते सबै २२ वर्षका थिए । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । उपचारपछि डिस्चार्ज भइसकेका घाइतेहरुलाई पनि स्थानान्तरण गरिएको जानकारी चौहानले दिए ।

उनका अनुसार सुधारगृहभित्र ठूलाले सानालाई हेप्ने, बारम्बार विवाद र झगडा गर्ने समस्या थियो । १४ जनालाई स्थानान्तरण गरिसकेपछि तत्काललाई त्यो समस्या हल भएको उनले बताए । स्थानान्तरणका लागि बाल सुधारगृहले जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफारिस गरेको थियो । सिफारिसका आधारमा प्रशासनले कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर स्थानान्तरणको प्रक्रिया पूरा गरेको हो ।

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन् । युवा भइसकेकाहरुबीच झडप भएको हो । सुधारगृहमा भएको झडपको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुधारगृहको क्षमता ५० जनाको हो । तर, २ सय ४८ जनालाई राखिएको थियो । १४ जनाको स्थानान्तरण भएपछि आइतबार २ सय ३४ जना छन् । तीमध्ये १८ वर्षमाथिका १ सय ८ जना रहेको सुधारगृहका प्रमुख चौहानले बताए ।

उनका अनुसार सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ । उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । तर, आवश्यक कानुनको अभावले बालिग भइसके पनि अरु बालकसँगै सुधारगृहमा राख्ने गरिन्छ । ‘युवा अवस्थामा पुगेकालाई बालकहरुसँगै राखिएको छ । क्षमताभन्दा धेरै छन् । सुधारगृहभित्रको अवस्था समस्याग्रस्त छ,’ चौहान भन्छन् ।

सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीका सहायक निरीक्षक (असइ)को नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले झडपका कारण अशान्त भएको सुधारगृहको अवस्था सामान्य भइसकेको बताए । ‘केहीलाई स्थानान्तरण गरिसकिएको छ । सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले अवस्था सामान्य भइसक्यो,’ यादवले भने ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.