
विराटनगर । उदयपुरमा मोटरसाइकलको ठक्करबाट आइतबार साँझ पैदलयात्री वृद्धा महिलाको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–८ राजावासमा दुर्घटना भएको हो । गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी त्रियुगा–८ की ६५ वर्षीया टीकामाया कार्कीलाई दिउँसो २ः१० बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी कार्कीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–७ घर भइ त्रियुगा–११ निलो पुलमा कोठा भाडामा लिएर बस्दै आएकी अन्दाजी २२ वर्षीया मीना तामाङ घाइते भएकी छन् ।
मोटरसाइकल चालक रौतामाई गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय गजेन्द्र दाहाल सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























