
ललितपुर । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार ललितपुरमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ को आयोजना गरिएको छ ।
सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गरेका छन् । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीश गरी ६० जनाभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।
सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।
महिलाहरुलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । उनले न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने बताए । महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने राउतको भनाइ छ ।
प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको उल्लेख गरे । उनले न्याय सम्पादनको कार्य जटिल रहेको बताए । यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

























