
विराटनगर । मोरङको लेटाङमा घरबाट माछा मार्न भनेर निस्किएका पुरुषको जंगलीको हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।
लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।
फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर उनी मृत फेला परेको जोशीले बताए । स्थानीय र आफन्तले प्रहरी चौकी जाँतेमा घटनाको जानकारी गराएका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
जोशीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको पत्ता लागेको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु थिए ।
भुइँ र झाडी मडारिएको थियो । हात्तीले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन संघर्ष गर्दा भुइँ र झाडी मडारिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा शवनजिकै लिम्बूको साइकल पनि फेला परेको छ । कोदालो र झुल बाँधेको तथा लडिरहेको अवस्थामा साइकल फेला परेको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर रेग्मी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई राति नै पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । डीएसपी जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
लेटाङको जाँते आसपासको जंगलमा केही समययता जंगली हात्तीको चहलपहल बढेको छ । जंगली हात्तीको आवतजावत बढेकाले हात्तीलाई नचलाउन, नजिस्क्याउन तथा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न र आक्रमणबाट जोगिनलाई सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

























