
विराटनगर । प्रहरीले सुनसरीको इटहरीबाट विवाह मण्डपबाट बेहुलासहित पाँच जनालाई पक्राउ गरेको छ । सोमबार इटहरीको राधाकृष्ण मन्दिरबाट पक्राउ गरेको हो ।
बालविवाह हुँदै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट पुगेको टोलीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट बेहुला र बेहुली, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेशकुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

























