
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही ठाउँमा आज (शुक्रबार) चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकका ६ प्रदेशमा वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार हिमाली भू–भागमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । पहाडी भू–भागमा बिहानैबाट आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो मधेशबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको हो ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

























