
विराटनगर । भारतले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस)को बखेडा झिकेर प्लाईउड निर्यातमा अवरोध खडा गरेको छ ।
बीआईएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । त्यो प्रमाणपत्र नभएको भन्दै नेपालबाट प्लाईउड निर्यातमा भारतले अवरोध गरेको हो । प्लाईउड नेपालबाट भारत निर्यात हुने प्रमुख वस्तुमध्येमा पर्छ ।
भारतले अवरोध गरेपछि प्लाईउड लोड गरेर पूर्वी नाका काकाँडभिट्टा हुँदै भारत गएका ३४ वटा ट्रक २ सातादेखि बाटैमा रोकिएका छन् । काँकडभिट्टासहित मुलुकका विभिन्न नाकाबाट प्लाईउड निर्यातमा भारतले अवरोध गरिरहेको व्यवसायीहरु बताउँछन् ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंका अनुसार काँकडभिट्टा हुँदै भारत गएका ३४ वटा ट्रकलाई पानीट्यांकीस्थित रानीगञ्ज भन्सार कार्यालयले रोकेको छ । २ साताअघि पानीट्यांकी पुगेका ट्रकलाई बीआईएस नभएको भन्दै भारतले निर्यातमा रोक लगाएको उनको भनाइ छ । भारतले अघि बढ्न नदिएपछि प्लाईउड लोड गरिएका ट्रक अलपत्र अवस्थामा रहेको जानकारी प्रसाईंले दिए ।
भारतले आयात हुने सामानमा बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएको छ । नेपालबाट निर्यात हुने वस्तुमा रोक लगाउनकै लागि भारतले नयाँ नियम लगाएको व्यवसायीहरुको बुझाइ छ । उनीहरुका अनुसार यसअघि बीआईएस बिना नै प्लाईउड निर्यात हुँदै आएको थियो ।
प्रसाईंका अनुसार प्याईउड बोकेका ट्रक भारतीय भन्सारले लामो समयदेखि रोकेर राखेको भए पनि अवस्था सहज बनाउन कसैले भूमिका खेलेको छैन । भारतले जान दिएको छैन । स्वदेश फर्काउने अवस्था पनि नभएको उनको भनाइ छ ।
व्यवसायीहरुका अनुसार नेपालमा ८० वटा प्लाईउड उद्योग छन् । एउटा उद्योगका लागि कम्तीमा २५ करोड रूपैयाँ लाग्ने गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा नेपालबाट ७ अर्ब ४३ करोड मूल्य बराबरको प्लाईउड भारत निर्यात भएको थियो ।
प्लाईउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्यात वस्तु हो । तर, निर्वाध रूपमा भइरहेको निर्यातमा भारतले रोक लगाएपछि समस्या भएको छ । नेपाल सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति गरेर निर्यातको वातावरण बनाउनुपर्ने माग व्यवसायीहरुको छ ।

























