
काठमाडौं । युरोपेली फुटबल महासंघ (युइएफए) ले किलियन एमबाप्पेसहित तीन रियल मड्रिडका खेलाडीलाई जरिवाना गरेको छ ।
शिष्टाचारविपरीतको व्यवहार गरेको भन्दै फ्रान्सेली फरवार्ड एमबाप्पेलाई ३० हजार युरो, जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई ४० हजार युरो र मिडफिल्डर डानी सेबालोसलाई २० हजार युरो जरिवाना गरेको हो ।
रुडिगर र एमबाप्पेलाई एक खेलको प्रतिबन्धसमेत लगाइएको छ। तर, यो प्रतिबन्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लागू हुनेछैन ।
च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्धको जितपछि उनीहरूले गरेको व्यवहारका कारण युइएफएले कारबाही गरेको हो ।
खेलाडीले अनुशासन संहिता अन्तर्गतको अनुच्छेद ११ उल्लंघन गरेको उल्लेख छ ।
१२ मार्चमा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा रियलले पेनाल्टी सुटआउटमा एट्लेटिकोलाई हराएको थियो ।



















