
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलालगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासंघ प्रदेश अध्यक्ष राउतले देशको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बजारमा माग ५० प्रतिशतसम्म घटेको बताए। ‘कच्चा पदार्थ भारतमा भर पर्नुपर्ने र सरकारको पूँजीगत खर्च नहुँदा बजारमा बिक्री घटेको छ,’ उनले भने ।
उनले कोशी प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबाट विना धितो, सुलभ व्याज दरमा साना व्यवसायीहरुलाई ऋण सुविधा उपलब्ध गराइने जानकारी दिए ।
महासंघका अध्यक्ष राउतले प्रदेशस्तरीय कृषि एक्स्पो र महिला उद्यमी विकास समितिबाट ढाका महोत्सवको आयोजना गरिएको बताउँदै उनले आगामी दिनमा स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजारीकरणका कार्यक्रमहरु ल्याइने योजना रहेको बताए ।

























