
विराटनगर । मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान–९ का ३० वर्षीय विजय साह, २७ वर्षीय निरञ्जन यादव, २५ वर्षीय विशेष राई र २६ वर्षीय निश्चल राई पक्राउ परेका हुन् ।
यसैगरी धरानकै २२ वर्षीय सञ्जीव सुनुवार र १९ वर्षीय सविन परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का २६ वर्षीय रहिस मन्सुरी, इटहरी–५ का ३२ वर्षीय सनम शेर्पा र धरान–५ का २६ वर्षीय दिवेश रम्तेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर र अन्य लागूऔषध बरामद गरिएको छ ।
धरानकै एक जना बालकलाई पनि विभिन्न नामका लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । उता, मोरङको उर्लाबारी–५ बाट १९ वर्षीय सुजन सिवा, पथरी शनिश्चरे–२ का २९ वर्षीय सुमन गुरुङलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

























