
काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबार सुरु हुने भएको छ । सम्मेलन दुई दिनसम्म चल्ने छ ।
‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले जनाएको छ ।
सम्मेलनका अवसरमा लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तरक्रिया हुने छ ।
सम्मेलनमा ५ प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुने जनाइएको छ । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जनाएको छ ।
७ सत्रमा ३५ वक्ता सहभागी हुनेछन् । ४ जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताएको छ ।

























